Logo

राजनीति

कांग्रेसले अन्तिम समयमा बुझायो समानुपातिक बन्दसूची



काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको बन्दसूची अन्तिम समयमा निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले आज अपराह्न सबैभन्दा ढिलो बन्दसूची पेस गरेको हो ।
सभापति शेरबहादुर देउवाको हस्ताक्षर ढिलो हुँदा बन्दसूची बुझाउन समय लागेको कांग्रेस स्रोतले जनाएको छ । खस–आर्यतर्फका तीन महिला उम्मेदवारमध्ये कसलाई समेट्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच विवाद भएपछि सूची टुंगो लगाउन ढिलाइ भएको हो ।
मंगलबार बिहानसम्म पनि सहमति जुट्न नसकेपछि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार उम्मेदवार सूची लिएर बिहान करिब ४ बजे निर्वाचन आयोग पुगेका थिए । तर सभापतिको हस्ताक्षर नभएको भन्दै सूची फिर्ता गरिएको थियो ।
त्यसपछि उनीहरू देउवा निवास पुगेका थिए । त्यहाँबाट फर्किएपछि खस–आर्यतर्फका महिला उम्मेदवार चयनलाई लिएर पुनः लामो छलफल भएको थियो । अन्ततः सहमति भएपछि मुख्यसचिव कृष्ण पौडेलले निर्वाचन आयोगमा बन्दसूची बुझाएका हुन् ।
कांग्रेससँगै समानुपातिकतर्फ बन्दसूची पेस गर्ने दलको संख्या ६४ पुगेको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ०२ बजे