Logo

मुख्य समाचार

सञ्चारमन्त्री खरेल र प्रचण्डबीच भेटवार्ता



काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेल र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शुक्रबार सञ्चारमन्त्री खरेल प्रचण्ड निवास हात्तिवन पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण निर्माणका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरिएको जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसका सभापति, नेकपा एमालेका अध्यक्ष तथा नेकपा संयोजकसँग भेटवार्ता भएको हो ।

मन्त्री खरेलले फागुन २१ गते तोकिएको निर्वाचन मितिलाई केन्द्रमा राखेर छलफल भएको बताउँदै नेकपा संयोजक प्रचण्डले निर्वाचनको विकल्प नरहेको स्पष्ट पारेको जानकारी दिए ।

‘जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने उहाँको धारणा छ, त्यो कुराकानीको क्रममा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचनको विकल्प नभएकोले जसरी पनि निर्वाचनमा जानुपर्छ र फागुन २१ गते नै निर्वाचन हुनुपर्छ भन्ने उहाँको पनि भनाई रहेको छ । निर्वाचनको लागि सरकारलाई सहयोग गर्ने प्रतिवद्धता समेत प्रचण्डले हामीसँगको कुराकानीमा व्यक्त गर्नु भएको छ,’ मन्त्री खरेलले भने ।

साथै, निर्वाचन सम्पन्न गर्न सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता प्रचण्डले व्यक्त गरेको पनि उनले बताए । यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पारेको मन्त्री खरेलले जानकारी दिए ।

देउवाले सुरक्षाको वातावरण निर्माण आवश्यक रहेको उल्लेख गर्दै निर्वाचन सम्पन्न गर्नका लागि नेपाली कांग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३१ बजे