Logo

राजनीति

बालेन–रवि वार्ता आन्तरिक तयारीमा सीमित, भेटवार्ता आज नहुने सम्भावना



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच हुने भनिएको भेटवार्ता सहमतिका खाका तयार नभएकाले तत्काल नहुने भएको छ। दुवै पक्ष सहमतिका लागि आन्तरिक गृहकार्यमा जुटेपछि आजै भेटवार्ता हुने सम्भावना न्यून रहेको रविनिकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार बिहीबार साँझ त्रिपक्षीय भेटवार्ता गर्ने तयारी भए पनि सहमतिको प्रारूप र आन्तरिक तयारी पूरा नभएकाले वार्ता स्थगित गरिएको हो। “आन्तरिक गृहकार्य सकिएपछि आज वा भोलि भेटवार्ता हुन सक्छ,” स्रोतले भन्यो।
यसअघि बिहीबार बिहान बालेन प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारको निवासमा भएको भेटवार्तामा उर्जामन्त्री कुलमान घिसिङ, रवि लामिछाने, सुनील शर्मा, डा. बाबुराम भट्टराई, खगेन्द्र सुनार, अमरेशकुमार सिंह, सागर ढकाल, जेनजी रक्षा बम, सुधन गुरुङ र पुरुषोत्तम यादव सहभागी थिए।
रास्वपा नेता शिशिर खनालले यसअघिका चरणबद्ध छलफलहरू सकारात्मक रहेको बताउँदै बालेनसँग थप भेटवार्ता र सहमति हुने विश्वास व्यक्त गरे। “अहिलेसम्मका सबै वार्ता सकारात्मक छन्,” उनले भने।
यसैबीच, रास्वपाले पार्टीको भावी नेतृत्व संरचनामा बालेनलाई उच्च बरीयतासहित अगाडि बढाउने प्रस्ताव गरेको दाबी बालेननिकट स्रोतले गरेको छ। तर उक्त प्रस्तावबारे दुवै पक्षबाट औपचारिक पुष्टि भएको छैन।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  १२ : ४४ बजे