काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण हाल तराई, कोशी, मधेश प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तराई भू–भागमा बिहान केही समय तथा बाँकी तराई भू–भागमा मध्यान्नसम्म कुहिरोको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ ।
यस्तै, आज राति तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।










प्रतिक्रिया