Logo

खेलकुद

थन्डर बोल्ट्स कप २०२५ : जेम्स स्कुल लगातार तेस्रो पटक च्याम्पियन



काठमाडौं। तेस्रो संस्करणको थन्डर बोल्ट्स कप २०२५ मा जेम्स स्कुलले उपाधि जित्दै लगातार तेस्रो वर्ष च्याम्पियन बनेको छ।

१२ खेलका ३२ विधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा जेम्स स्कुलले कुल ४९ अंक हासिल गर्दै पहिलो स्थान र पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो। यस जितसँगै जेम्स स्कुलले प्रतियोगितामा ‘ह्याट्रिक’ उपाधि जित्न सफल भएको छ।

प्रतियोगितामा एभीएम स्कुल २० अंकसहित दोस्रो तथा निसर्ग वाटिका स्कुल ११ अंकसहित तेस्रो स्थानमा रहे।

समापन समारोहमा प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र जेम्स स्कुलका अध्यक्ष राजेश खड्कालगायतले विजेता विद्यालय तथा खेलाडीलाई पुरस्कार, पदक र ट्रफी प्रदान गरे।

समारोहलाई सम्बोधन गर्दै एन्फाका महासचिव राईले स्कुलस्तरीय खेलकुद प्रवर्द्धनमा जेम्स स्कुलले नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै यस्ता प्रतियोगिताबाट भविष्यका राष्ट्रिय खेलाडी उत्पादन हुने बताए।

कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठ, थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरका प्राविधिक निर्देशक जोन व्हिटल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक मुकुन्दराज शर्मा, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यलगायतको उपस्थिति रहेको थियो।

आयोजक विद्यालयको तर्फबाट शैक्षिक निर्देशक डा. राजीव क्षेत्रीले सहभागी विद्यालय र खेलाडीलाई बधाई दिँदै धन्यवाद ज्ञापन गरे।

प्रतियोगितामा काठमाडौं उपत्यकाभित्र तथा बाहिरका १०७ भन्दा बढी विद्यालयका करिब ३५ सय खेलाडीले सहभागिता जनाएका थिए।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १२ : ०६ बजे