Logo

खेलकुद

इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगितामा आज नेपालले चिनियाँ ताइपेईसँग प्रतिस्पर्धा गर्ने




इन्डोनेसिया । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा होनेछ। खेल स्थानीय समयअनुसार साँझ ७:३० बजे सुरु हुनेछ।

फिफा वरीयतामा नेपालभन्दा माथि रहेको चिनियाँ ताइपेई ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा छ। सन् १९७७ देखि अन्तर्राष्ट्रिय महिला फुटबल यात्रा सुरु गरेको चिनियाँ ताइपेईले १९७७, १९७९ र १९८१ का एएफसी महिला एसियन कप उपाधि जितेको इतिहास छ। नेपालले सन् १९८६ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेको हो।

नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले प्रतिद्वन्द्वी शक्तिशाली भए पनि सुधारिएको प्रदर्शनका साथ जितको लक्ष्यसहित मैदानमा उत्रने बताए। इन्डोनेसियासँगको अघिल्लो खेलमा फिनिसिङ कमजोरी देखिएको स्वीकार गर्दै उनले चिनियाँ ताइपेईविरुद्ध राम्रो समन्वय र खेल संगठन प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। साफ च्याम्पियनसिपको तयारीस्वरूप ‘इन्जुड’ खेलाडीलाई आराम दिइने र नयाँ खेलाडीलाई मौका दिइने पनि उनले बताए।

टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले सबै खेलाडी शारीरिक र मानसिक रूपमा तयारी अवस्थामा रहेको बताउँदै खेलमा शतप्रतिशत दिने प्रतिबद्धता जनाइन्।

नेपाल यसअघि इन्डोनेसियासँग २–१ गोल अन्तरले पराजित भएको थियो। यता, चिनियाँ ताइपेईले इन्डोनेसियालाई ५–० ले हराएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ९ : ३६ बजे