काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमाण्डू गोर्खाजले शुक्रबार चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डूले दिएको १४३ रनको लक्ष्य पछ्याउँदै चितवन १७.२ ओभरमै ८९ रनमा समेटिएको थियो। चितवनका कुनै पनि ब्याटर प्रभावशाली प्रदर्शन गर्न सकेनन्। देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाए भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न असफल रहे।
काठमाण्डूका राशिद खानले १.२ ओभरमा तीन रन खर्चेर तीन विकेट लिए। कप्तान करण केसी, मिलिन्द कुमार र साहब आलमले समान दुई–दुई विकेट हात पारे। सन्तोष यादवले एक विकेट थपे।
यसअघि टस हारेर ब्याटिङ गरेको काठमाण्डूले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४२ रन बनाएको थियो। काठमाण्डूका सिम्पसनले २९ बलमा ६० रनको विस्फोटक इनिङ खेले। उनले मिलिन्द कुमारसँग चौथो विकेटका लागि ९८ रनको साझेदारी गरेका थिए। मिलिन्दले ३८ रन योगदान दिए।
चितवनका बलरमध्ये सोहेल तान्विर सर्वाधिक प्रभावशाली रहे। उनले चार ओभरमा २५ रन खर्चेर चार विकेट लिए। रञ्जित कुमार र कमलसिंह ऐरीले दुई–दुई विकेट लिए भने रवि बोपाराले एक विकेट प्राप्त गरे।
यस जितसँगै काठमाण्डूले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। चितवनले भने दोस्रो हार बेहोरेको छ।










प्रतिक्रिया