Logo

समाचार

एनसेलको ‘एनपीएल प्ले प्याक’मार्फत डिशहोम गो एपमा एनपीएल दोस्रो संस्करण लाइभ स्ट्रिमिङ


१२ मंसिर २०८२, शुक्रबार  

23
Shares

काठमाडौं — एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका खेलहरूको डिजिटल स्ट्रिमिङका लागि डिशहोमसँग सहकार्य गर्दै ‘एनपीएल प्ले प्याक’ सार्वजनिक गरेको छ। यसमार्फत ग्राहकले डिशहोम गो एपबाट लाइभ खेल अवलोकन गर्न सक्नेछन्।

कम्पनीका अनुसार दर्शकले सहज रूपमा एनपीएलका खेल हेर्न सकून् भन्ने उद्देश्यले प्याक सुरु गरिएको हो। करसहित २९९ रुपैयाँमा उपलब्ध यो प्याकमा २८ दिनका लागि १ जीबी डेटा बन्डल समावेश छ। ग्राहकले एनसेल एप वा *81233# डायल गरी प्याक खरिद गर्न सक्नेछन्। साथै, मुलुकभरका एनसेल खुद्रा विक्रेताबाट पनि यो सेवा किन्न सकिन्छ।

प्याक सक्रिय भएपछि प्राप्त एसएमएसमार्फत डिशहोम गो एपमा लगइन गरी एनपीएलका खेल प्रत्यक्ष हेर्न सकिने एनसेलले जानकारी दिएको छ।

एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले डिशहोमसँगको साझेदारीले ग्राहकलाई मोबाइलमै निर्बाध रूपमा लाइभ क्रिकेट हेर्न सुविधा उपलब्ध गराएको बताए। कम्पनी यसअघि जस्तै दोस्रो संस्करणमा पनि ‘पावर्ड वाइ’ पार्टनरका रूपमा एनपीएलसँग आवद्ध छ। यसपटक ‘युनाइटेड वाइ क्रिकेट, कनेक्टेड वाइ एनसेल’ स्लोगनसहित कम्पनीले सहभागिता जनाएको छ।

एनपीएललाई थप रोचक बनाउन एनसेलले फ्यान प्याकहरू पनि सार्वजनिक गरेको छ। साथै, एनसेल फाउन्डेसनले व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत गत वर्षझैँ यस वर्ष पनि एनपीएलमा प्रहार हुने प्रत्येक चौकाबापत ग्रामीण तथा दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चार थान शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : १४ बजे