काठमाडौं । विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य र एकताका प्रयास तीव्र बन्दै गएको बताएकी छन्। प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनअघि एकीकरणको प्रयास अघि बढ्ने जानकारी दिइन्।
बास्कोटाका अनुसार रास्वपामा पूर्व नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलगायत केही प्रभावशाली व्यक्तिहरू प्रवेश गर्ने सम्भावना देखिएको छ। तर दुर्गा प्रसाईँ कुनै पनि रुपमा रास्वपामा समावेश हुने सम्भावना नरहेको उनको भनाइ छ।
विवेकशील साझा पार्टीले रास्वपासँग एकीकरण गर्ने निर्णय गरेपछि आफू कुनै पदको मुद्दा उठाउँदै विवाद सिर्जना गर्ने पक्षमा नरहेको बास्कोटाले स्पष्ट पारिन्। उनले एकीकृत संरचनामा बसेर देशका लागि सेवा गर्ने बताइन्।
उनले वर्तमान सरकारको मुख्य म्यान्डेट चुनाव सम्पन्न गर्नु रहेको उल्लेख गर्दै निर्वाचन प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमै हुने दाबी गरिन्।










प्रतिक्रिया