काठमाडौं । मधेस प्रदेश सरकारले बेरोजगार युवा र किसान लक्षित नयाँ आर्थिक सहयोग कार्यक्रम अगाडि बढाउने तयारी गरेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले उखु किसानलाई संघीय सरकारबाट दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान निरन्तरता दिन लिखित अनुरोध गर्ने तयारी भएको बताए। अनुदान रोकिनुका कारण किसान र उद्योग दुवै समस्यामा परेकाले बक्यौता रकम छिटो निकासा गर्न प्रदेश सरकारले आग्रह गर्ने उनले उल्लेख गरे।
यसैगरी, धान काट्ने समयमा वर्षाबाट क्षति व्यहोरेका किसानलाई राहत स्वरूप प्रतिकठ्ठा १५०० रुपैयाँ वितरण प्रक्रिया सुरु हुने उनले जानकारी दिए।
प्रदेश सरकारले बेरोजगार युवालाई लक्षित गरी स्नातक तह उत्तीर्ण तर रोजगारी नपाएका युवालाई प्रतिमहिना २ हजार रुपैयाँ भत्ता दिने प्रक्रिया पनि अघि बढाइरहेको मुख्यमन्त्री यादवले जानकारी दिए।
मल वितरणमा भएको कृत्रिम अभाव, कालोबजारी र अनियमितता नियन्त्रणका लागि सबै जिल्लाका प्रशासन कार्यालयलाई आवश्यक कदम चाल्न प्रदेश सरकारले अनुरोध गरेको छ।










प्रतिक्रिया