काठमाडौँ — कागेश्वरी मनोहरा नगरपालिकाले जेन–जि पुस्ताका युवालाई रोजगारमुखी सूचना प्रविधि सीप प्रदान गर्न १० दिने डिजिटल साक्षरता प्रशिक्षण सम्पन्न गरेको छ। प्रशिक्षण बेलायतस्थित सूचना प्रविधि परामर्श तथा साइबर सुरक्षा कम्पनी जेनेस सलुशनको सहकार्यमा सञ्चालन गरिएको थियो।
तालिममा सहभागी ४० युवालाई डिजिटल मार्केटिङ, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ र पछिल्ला आइटी प्रवृत्तिबारे प्रशिक्षण दिइयो। सिद्धान्तसँगै व्यावहारिक अभ्यास पनि समावेश गरिएको थियो।

नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकालाई ‘आइटी हब’का रूपमा विकास गर्ने उद्देश्यअनुसार जेनेस सलुशनसँगको सहकार्यमा इनोभेशन सेन्टर स्थापना गरिएको बताए। उनले तालिमले युवालाई रोजगारी र स्वरोजगारका अवसरमा मार्गनिर्देशन गरेको पनि जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले तालिमले सहभागीहरूलाई नयाँ सीप सिक्न र आफ्नो करियर योजना बनाउन सहयोग गरेको बताए। शिक्षा शाखा प्रमुख पुष्पराज ढकालले सूचना प्रविधि क्षेत्रमा दक्ष युवाहरूले धेरै अवसर प्राप्त गर्न सक्ने बताए।
तालिम सञ्चालनमा जेनेस सलुशनका कैलाश बडू, सम्पन्न श्रेष्ठ, विश्रान्त कटवाल, आस्था जोशी, सुजु श्रेष्ठ, वरदान खड्का क्षेत्री, निर्मल बस्ताकोटी, कृतिका कपाली र सन्तोष ताम्राकार संलग्न थिए। नेपाल प्रहरीको साइबर ब्युरोका वरिष्ठ सब–इन्स्पेक्टर जीत बहादुर बुढाले साइबर सुरक्षा र साइबर कानुनबारे विशेष सत्र सञ्चालन गरे। साथै, सेल पेका निमेश अधिकारी र जब स्नाइपर प्रालिका सह–संस्थापक इ. उज्ज्वल कोइरालाले प्रशिक्षण दिएका थिए। कार्यक्रमको सहजीकरण दीपक राज सिलवालले गरेका थिए।
तालिमका सहभागी युवाहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्। कार्यक्रमको अन्त्यमा सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

अघिल्लो अगस्ट महिनामा, कागेश्वरी मनोहरा नगरपालिका र जेनेस सलुशनबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता अभिवृद्धि गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। हालसम्म करिब ७० स्थानीय युवा विभिन्न तालिमका लागि केन्द्रमा दर्ता भइसकेका छन्।
जेनेस सलुशन नेपाल, बङ्गलादेश, नाइजेरिया, फिनल्यान्डसहित १० भन्दा बढी देशमा आइटी सेवा र परामर्श प्रदान गर्दै आएको कम्पनी हो।











प्रतिक्रिया