Logo

मुख्य समाचार

कांग्रेस संस्थापन पक्ष: चुनावपछि मात्र महाधिवेशन, ‘विशेष’ एजेन्डामा छलफलै भएन



काठमाडौं — नेपाली कांग्रेसको संस्थापन पक्षको भेलाले आगामी प्रतिनिधिसभा चुनावपछि मात्र पार्टीको नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ। सोमबार धुम्बाराहीस्थित स्मार्ट प्यालेसमा बसेको भेलामा ९१ जना केन्द्रीय सदस्य उपस्थित रहे।

केन्द्रीय सदस्य किरण पौडेलका अनुसार पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराइसकेकाले अब आयोगको कार्यतालिका अनुसार काम गर्नुपर्ने बाध्यताले महाधिवेशन चुनावपछि सारिएको हो। उनका अनुसार विधानको धारा ३३(१) अनुसार उम्मेदवार टुंगो लगाउन एक महिना अघिनै निर्णय गर्नुपर्ने व्यवस्था भए पनि समय अभावका कारण त्यो सम्भव नभएको हो।

भेलाले वडा, क्षेत्र र जिल्ला हुँदै केन्द्रसम्मका संरचनाबाट पारित सिफारिसका आधारमा संसदीय समितिले उम्मेदवार टुंग्याउने प्रक्रिया तत्काल अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ। दल दर्तासहितका औपचारिकताले ढिलाइ भएको र अब निर्वाचन आयोगले कुर्न नसक्ने परिस्थिति बनेको कारण चुनावी तयारीमा सिंगै पार्टी होमिनुपर्ने निष्कर्ष बैठकमा राखिएको पौडेलले बताए।

विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित असोज २९ गते दर्ता भएको प्रस्ताव भने भेलाको एजेन्डामा नसमेटिएको पौडेलले स्पष्ट पारे। उनका अनुसार विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय समितिको एजेन्डा नभएकाले छलफल नै उठेन।

कांग्रेस विधानको दफा १७(२) ले केन्द्रीय समिति चाहेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ। तर संस्थापन पक्षको आजको भेला नियमित महाधिवेशनलाई चुनावपछि गर्ने र चुनावी तयारीमा केन्द्रित हुने निर्णयमै सीमित रह्यो।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ३४ बजे