Logo

समाचार

अनलाइन ठगी बढेपछि काठमाडौं प्रहरीले सातबुँदे चेतावनी जारी



काठमाडौं । पछिल्लो समय अनलाइनमार्फत हुने ठगीका घटना बढ्दै गएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले सातबुँदे सचेतना निर्देशिका सार्वजनिक गर्दै नागरिकलाई सावधान रहन आग्रह गरेको छ। परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारी रकम ठग्ने घटनाहरू दैनिक रूपमा बढेपछि सार्वजनिक सूचना जारी गरिएको हो।

प्रहरीका अनुसार फेसबुक, इमो, ह्वाट्सएप, भाइबर, इन्स्टाग्राम लगायतका माध्यमबाट ‘चिट्ठा परेको’ वा ‘रकम प्राप्त गर्न शुल्क तिर्नु पर्ने’ जस्ता बहाना बनाई ठगी हुने भएकाले यस्ता सन्देशप्रति विशेष ध्यान दिन आग्रह गरिएको छ।

अनलाइनमार्फत सामान खरिद गर्दा आधिकारिक बिक्रेता पुष्टि गर्न, अपरिचित व्यक्तिबाट भिडियो कल आएर त्यसलाई दुरुपयोग गरी ब्ल्याकमेल गर्ने जोखिम बढेको हुँदा सचेत रहन प्रहरीको आग्रह छ। सामाजिक सञ्जाल खाता ह्याक भई साथीभाइ वा आफन्तका नाममा आर्थिक सहयोग मागिन सक्ने भएकाले यस्ता संदेश आएमा प्रत्यक्ष सम्फर्क गरी यकिन गर्न सुझाव दिइएको छ।

त्यस्तै, सस्तो दरमा सामान देखाएर अग्रिम रकम मागी ठगी गर्ने, अपरिचित लिंक खोल्दा ह्याकिङको जोखिम हुने, ओटीपी कोड वा निजी विवरण कसैलाई पनि नदिनु, सामाजिक सञ्जालमा संवेदनशील जानकारी नराख्नेजस्ता सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  १२ : ३८ बजे