Logo

राजनीति

कांग्रेसका युवा नेताद्वारा ‘सुधार अभियान’ सुरु



काठमाडौँ । नेपाली कांग्रेसका ४० वर्षमुनिका युवा नेताहरुले पार्टीभित्र संरचनागत सुधार र रूपान्तरणको माग गर्दै ‘कांग्रेस सुधार अभियान’ शुरू गरेका छन्। उनीहरूले १०१ सदस्यीय केन्द्रीय संयोजन समिति गठन गरेर सुधारका एजेन्डामा औपचारिक रूपमा दबाब निर्माण थालेका हुन्।

अभियानका संयोजकसमेत रहेका नेपाल विद्यार्थी सङ्घका पूर्व कोषाध्यक्ष शिव रिमालका अनुसार पार्टीका हरेक तहमा युवाको सम्मानजनक सहभागिता सुनिश्चित गर्न तथा तीनवटै तहका निर्वाचनमा ४० वर्षमुनिका कम्तीमा ४० प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्न माग गरिएको छ।

समितिले उम्मेदवार छनोट प्रक्रियामा प्राइमरी इलेक्सन अनिवार्य गर्ने, सुशासन कायम गर्ने र पार्टी विधान संशोधनमार्फत संस्थागत सुधार अघि बढाउने माँगसहित कांग्रेस नेतृत्वलाई दवाब दिने तयारी गरेको छ। लोकतन्त्रको संरक्षण र सम्वर्द्धनबारे नयाँ बहस तथा पैरवी अघि बढाउने उद्देश्यले प्रारम्भिक चरणमा प्रतिनिधिमूलक संयोजन समिति गठन गरिएको समितिले जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ०० बजे