Logo

राजनीति

कुलमान घिसिङ : “नयाँ मागले सहमति अवरुद्ध, संघीय सरकार हात उठाउन बाध्य हुन सक्छ”



काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन रोकिँदासँगै उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको वार्ता निष्कर्षविहीन भएको छ। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध हटाउन सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बुधबार सिंहदरबारमा बोलाइएको आकस्मिक बैठक सहमति बिना टुंगिएको हो।

विगतका सम्झौता कार्यान्वयनको माग राख्दै स्थानीयले फेरि फोहोर फाल्न रोक लगाएपछि सरकारले सरोकारवालासहितको बैठक आयोजना गरेको थियो। घिसिङको सचिवालयका अनुसार बैठकमा स्थानीय प्रतिनिधि तथा अधिवक्ता सुभास पाठकले नौबुँदे मस्यौदा तयार पारेका थिए, जसमा धादिङको धुनिबेँसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिहरू प्रारम्भिक सहमतिमा थिए।

तर हस्ताक्षरको अन्तिम चरणमै पाठकले आफैँ तयार पारेको मस्यौदामाथि असहमति जनाउँदै थप नयाँ माग प्रस्तुत गरेपछि प्रक्रिया रोकिएको सचिवालयले जनाएको छ। पाठक पछि हटेपछि अन्य जनप्रतिनिधिहरूले पनि हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

बैठक अवरुद्ध भएपछि मन्त्री घिसिङ असन्तुष्ट देखिएका थिए। उनले प्रधानमन्त्रीस्तरसम्म छलफल गरी सरकार अत्यधिक लचक बने पनि स्थानीयतर्फबाट निरन्तर नयाँ माग राखिँदा सहमति असम्भव बनेको बताए।

“समस्या समाधानमा सरकार गम्भीर छ, तर एकपछि अर्को नयाँ माग राखिँदै जाने हो भने महानगर र स्थानीयबीचको यो विषयमा संघीय सरकार हात उठाउन बाध्य हुनेछ,” मन्त्री घिसिङले चेतावनी दिएका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ३३ बजे