काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट प्रभावित स्थानीयलाई काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा अवरोध नगर्न आग्रह गरेका छन्।
फोहोर व्यवस्थापन अवरुद्ध भएपछि उनले आन्दोलनकारीलाई टेलिफोनमार्फत माग पूरा गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गरे। गत कात्तिक १६ गते बञ्चरेडाँडा पुगेर १५ दिनभित्र माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका घिसिङले सम्बन्धित कामहरूको प्रगति भइरहेको बताए।
स्थानीयको मागअनुसार ल्यान्डफिल साइटमा रात्रिकालीन फोहोर व्यवस्थापनका लागि बत्ती जडान कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ। प्रतिवद्धताअनुसार शहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वमा धुनिवेसी र ककनीका स्थानीय प्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका अधिकारीसमेत सहभागी रहने कार्यान्वयन अनुगमन समिति गठन गरिएको छ। समितिले विगतका सहमतिको प्रगति विवरण तयार पारेको छ।
मुआब्जा तथा क्षतिपूर्तिका लागि सिसडोलमा लागू गरिएको मोडेलअनुसार धादिङ र नुवाकोटका प्रभावितलाई क्षतिपूर्ति वितरण गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गरिएको छ। विगतमा वार्षिक ६५ लाख रुपैयाँ वितरण गर्दै आएको महानगरले चालु आर्थिक वर्षका लागि बजेट बढाएर एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको मन्त्रालयले जानकारी दिएको छ।
फोहोर ढुवानीका लागि निकुञ्ज भएर जाने छुट्टै बाटो निर्माण गर्न प्रारम्भिक वातावरणीय परीक्षण (आईईई)का लागि परामर्शदातासँग सम्झौता भएको छ। साथै प्रभावित क्षेत्रका चार सडकखण्ड स्तरोन्नतिका लागि बोलपत्र मूल्यांकन भइरहेको मन्त्रालयले जनाएको छ।










प्रतिक्रिया