म्याग्दी– धवलागिरि गाउँपालिका–७ मच्छिमस्थित पाँच दशकदेखि बन्द तामाखानी उत्खननका लागि औपचारिक अध्ययन प्रक्रिया सुरु भएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति प्राप्त ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाको भण्डारण तथा उत्खनन सम्भाव्यताबारे प्रारम्भिक मूल्यांकन गर्दै अध्ययन थालिएको जनाइएको छ।
धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीका अनुसार हालै भूगर्भविद् सम्मिलित टोलीले तामाखानी क्षेत्रको पहिलो चरणको स्थलगत निरीक्षण सम्पन्न गरेको छ। टोलीले खानी क्षेत्रमा पुग्न आवश्यक पहुँचमार्ग निर्माणसम्बन्धी विषयमा समेत स्थानीय सरोकारवालासँग छलफल गरेको उनले बताए।
सम्भाव्यता अध्ययन पूरा भएपछि उत्खनन प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले जानकारी दिए। लामो समयदेखि बन्द अवस्थामा रहेका मच्छिमका छ वटा तामाखानी २०२८ सालसम्म स्थानीय प्रविधिबाट सञ्चालनमा रहेको स्थानीय कुलबहादुर छन्त्यालले बताए। उनका अनुसार प्रविधिको अभाव र आम्दानीको तुलनामा उच्च करभारका कारण खानी बन्द भएको थियो।
तामाखानी उत्खननको पहल पुनः सुरु भएपछि स्थानीयले रोजगारीका अवसर र सतर्कता उपायमा प्राथमिकता दिन आग्रह गरेका छन्। मच्छिममा छन्त्याल समुदायको ऐतिहासिक पेसा खानी खन्ने रहेको बताइन्छ। खानी क्षेत्रका पुराना सुरुङ र तामाका धाउ आज पनि देख्न सकिन्छ।
उक्त कम्पनीले नजिकैको मालिका गाउँपालिकास्थित ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ। खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहानसहित विभिन्न खनिज पाइन्छन्। जिल्लामा सर्वाधिक पाइने खनिजमध्ये तामा प्रमुख मानिन्छ।










प्रतिक्रिया