काठमाडौं — नेपाली कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई शीर्ष नेताहरूसँग संवाद समन्वयको जिम्मेवारी दिइएको छ। कांग्रेस कार्यसम्पादन समितिको सोमबार बसेको बैठकले खड्कालाई शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिसहित अन्य वरिष्ठ नेताहरूसँग छलफल गरी समाधानको मार्ग निकाल्न निर्देशन दिएको हो।
खड्कासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि आन्तरिक विवाद समाधानका लागि पहल गर्ने समिति बैठकले निर्णय गरेको छ।
कांग्रेसको १५औँ महाधिवेशनको मिति निर्धारणमा नेतृत्व तहबीच सहमति नजुटेपछि पार्टीभित्र तीव्र मतभेद देखिएको छ। संस्थापन पक्षले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएको छ। तर संस्थापन–इत्तर समूह तत्काल महाधिवेशन गर्नुपर्ने मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन आह्वानका लागि दबाब बढाइरहेको छ। कांग्रेस विधानअनुसार ४० प्रतिशत प्रतिनिधिको माग पुगेमा विशेष महाधिवेशन बोलाउन सकिने प्रावधान छ।
महामन्त्री थापा र शर्मा पनि चुनावअघि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्ने पक्षमा उभिएका छन्। महाधिवेशनको मितिसम्बन्धी सहमति नजुटेमा भोलि दिउँसो बोलाइएको केन्द्रीय समिति बैठक फेरि स्थगित हुन सक्ने बताइएको छ।










प्रतिक्रिया