Logo

मुख्य समाचार

राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र गम्भीर संकटमा परेको आजपा अध्यक्ष साहको दाबी


२८ कार्तिक २०८२, शुक्रबार  

0
Shares

चितवन — आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र गम्भीर संकटमा परेको आरोप लगाएका छन्। मकवानपुरको हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा आजपा मकवानपुर जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक व्यवस्थाको असफलताले सार्वजनिक ऋण अस्वीकार्य रूपमा वृद्धि भएको दाबी गरे।

साहका अनुसार नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेर जीडीपीको ४७ प्रतिशतभन्दा बढी पुगेको छ। उनले “हरेक नेपाली जन्मँदै एक लाख रुपैयाँ ऋण बोकेर जन्मिनुपर्ने अवस्था सिर्जना भएको” उल्लेख गर्दै भ्रष्टाचार र लुटतन्त्र बढ्दै गएको आरोप लगाए।

उनले नेपाल ९ महिना अघिदेखि नै फाइनान्सियल एक्शन टास्कफोर्स (एफएटीएफ) को ‘ग्रे–लिष्ट’मा रहेको र २०२७ जनवरीसम्म आवश्यक सुधार नगरे ‘ब्ल्याक–लिष्ट’मा पर्ने जोखिम रहेको चेतावनी दिए। साहले सरकारले ग्रे–लिष्टबाट बाहिरिन आवश्यक कदम नचालेको र “सत्ताको आयु लम्ब्याउने खेलमा मात्र लागेको” आरोप लगाए।

सम्पत्ति शुद्धीकरण नियन्त्रणका क्षेत्रमा सरकार असफल रहेको उल्लेख गर्दै उनले वाणिज्य बैंक, सहकारी, क्यासिनो, बहुमूल्य धातु तथा पत्थर व्यापार र घरजग्गा क्षेत्रको प्रभावकारी अनुगमन हुन नसकेको बताए। अवैध रकम पठाउने हुन्डी जस्ता गतिविधि नियन्त्रणमा पनि सुधार नदेखिएको उनको भनाइ छ।

साहले वर्तमान परिस्थितिले नेपालको अन्तर्राष्ट्रिय साख कमजोर बनेको र बहुपक्षीय निकाय तथा विदेशी लगानीकर्ताको विश्वासमा नकारात्मक असर पर्ने चेतावनी दिए। वैदेशिक लगानी घट्ने जोखिम बढेको भन्दै उनले सरकारले तत्कāl सुधारात्मक कदम चाल्नुपर्ने औंल्याए।

उनले राष्ट्रियता, लोकतन्त्र र अर्थतन्त्र जोगाउन अब सडक आन्दोलन अपरिहार्य बन्दै गएको दाबी गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ४५ बजे