Logo

अर्थ

३५ उद्योगले तिरे २३ करोड ८७ लाख रुपैयाँ बक्यौता महसुल


२७ कार्तिक २०८२, बिहिबार  

69
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका ३५ उद्योगबाट २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ बक्यौता महसुल असुल गरेको छ।

विगतमा लोडसेडिङको समयमा विद्युत् उपभोग गरेका ती उद्योगमध्ये २५ नयाँ उद्योगले पहिलो किस्ता बुझाएका छन् भने यसअघि किस्ताबन्दी सुरु गरी रोकिएका १० उद्योगले तिर्ने प्रक्रिया पुनः सुरु गरेका छन्।

प्राधिकरणका अनुसार ती उद्योगहरूको कुल बक्यौता पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ रहेकोमा हालसम्म पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ अझै असुल गर्न बाँकी छ। यो रकम ०७२ माघदेखि ०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरिएको प्रिमियम महसुल हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले उद्योगहरूले राज्यप्रतिको दायित्व पूरा गर्दै बक्यौता तिर्न थालेकोमा सन्तोष व्यक्त गरे। उनले उद्योगीहरूले किस्ताबन्दी तिर्ने कार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरे।

“उद्योगहरूका जायज माग सम्बोधन गर्न सरकार सधैं तयार छ,” मन्त्री घिसिङले भने, “तर, किस्ताबन्दी सुरु गरेपछि त्यसको पालना गर्नुपर्ने अपेक्षा राखिएको छ।”

प्राधिकरणले असोज महिनामा २१ दिनको समयसीमा दिएर सार्वजनिक सूचना जारी गरेको थियो। सो अवधिमा पनि बक्यौता नतिर्ने उद्योगका लाइन कात्तिक ४ र ७ गते गरी दुई चरणमा काटिएका थिए।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ४ : २७ बजे