काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्लेले नेपालमा हुने निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको नैसर्गिक अधिकार भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताको लागि सैद्धान्तिक र प्राविधिक प्रस्ताव’ बारे छलफलमा उनले निर्वाचनहरुमा मतदान गर्न पाउनु विदेशमा रहेका नेपालीहरुको पनि नैसर्गिक अधिकार भएको भन्दै पछिल्लो समयमा सर्वोच्च अदालतले यसलाई लागू गर्न निर्वाचन आयोगलाई निर्देशन गरेको बताए ।
उनले भने, ‘विदेशमा रहनु भएका दाजुभाई दिदिबहिनीहरुले नेपालका संघीय निर्वाचन, प्रादेशिक र स्थानीय निर्वाचनहरुमा मतदान गर्न पाउनुपर्छ । यो उहाँहरुको नैसर्गिक अधिकार हो । हाम्रो राजनीतिक दलको मान्यता पनि त्यही हो । पछिल्लो समय सर्वोच्च अदालतले पनि पटक पटक निर्देश नै गरिरहेको छ । विदेशमा बस्नुहुने नेपाली नागरिकहरुको पनि नैसर्गिक अधिकारलाई लागू गर्नेतर्फ जान भनेको छ ।’
यस्तै, रास्वपा विदेशमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउनुपर्छ भन्ने कुराको पक्षमा सधैँ रहेको भन्दै अहिले समय उपयुक्तभएकाले यसलाई अझ जोडदार रुपमा सरकार समक्ष प्रस्तुत गर्दै आएको बताए ।
अब मतदानको उद्देश्यलाई पूरा गर्न सरकारलाई रास्वपाले प्राविधिक, कानूनी, राजनीतिक पुँजी सबै तरिकाले साथ सहयोग दिन तयार रहेको पनि उनको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै प्रवक्ता मनिष झाले विदेशमा रहेका ६७ प्रतिशत नेपालीहरु मतदान गर्न इच्छुक रहेको र लगभग ४० प्रतिशतले मतदाता नामावलीमा नाम दर्ता गाराइसकेको जानकारी दिए ।
३९ देशहरुमा प्राविधिक निर्वाचनको अभ्यास भइसकेको बताउँदै उनले ज्ञान,उदारता, विश्वस्त, स्रोत र कानुनी कुराले नेपालमा लागू हुन नसकेको धारणा राखे । त्यस्तै, उनले रास्वपाले स्थापनादेखि अहिलेसम्मको यात्रामा सुरुवातदेखि नै प्राविधिक रुपमा निर्वाचन प्रणालीको विषयमा विशेष जोड दिदै आएको बताए ।










प्रतिक्रिया