जनकपुरधाम । मधेस प्रदेशमा असंवैधानिक ढंगले मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मंगलबार (कात्तिक २५) पनि सात राजनीतिक दलले जनकपुरमा प्रदर्शन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयअगाडि नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टीलगायत दलका नेता–कार्यकर्ताले प्रदर्शन गर्दै सडकमा चक्काजाम गरेका हुन् ।
प्रदर्शनमा लोसपाका अध्यक्ष महन्थ ठाकुर स्वयं सहभागी थिए । शनिबार (कात्तिक २२) विश्वासको मत लिने क्रममा राजीनामा दिएका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रदर्शनलाई सबै जिल्लामा फैलिएको बताए । उनले भने, “मधेसी जनताको अपमान भएको छ, संवैधानिक बाटो तोडिएको छ । अब यो आन्दोलनलाई रोक्न सकिँदैन ।”
सोमबार (कात्तिक २४) बिहान उपचारका लागि भन्दै काठमाडौं प्रस्थान गरेकी तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले)का नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि मधेस प्रदेशको राजनीति तातिएको हो । उक्त नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर गरिएको छ ।
आन्दोलनकारीहरूले सोमबार तोडफोडसहित प्रदर्शन गरेका थिए भने मंगलबार जनकपुरका सडकमा बसेर चक्काजाम गरेका छन् ।










प्रतिक्रिया