काठमाडौं — नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान र लोकतन्त्र जोगाउन चुनावमा जानै पर्ने आवश्यकता औंल्याएकी छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै उनले ‘जेनजी’ प्रदर्शनपछि देखिएको अराजकताले देशका अंग तहसनहस बनाएको बताइन्।
प्रसाईंका अनुसार संविधान अहिले संकटको मोडमा पुगेको छ र यसको रक्षा गर्न लोकतान्त्रिक शक्तिले चुनावमार्फत जनमत लिनु जरुरी छ। उनले भनिन्, “संविधान एउटा टेकोमा अडिएको छ। यस्तो अवस्थामा चुनाव घोषणा भएको छ भने नेपाली कांग्रेसले चुनावमा जाने निर्णय तत्काल गर्नुपर्छ। चुनावले मात्र संविधानको रक्षा गर्छ।”
उनले कांग्रेसका लागि परिस्थिति प्रतिकूल भए पनि चुनावमा भाग लिनुपर्ने बताइन्। “हामीले हार्ने निश्चित छ भने पनि चुनावमा गएर संविधान जोगाउनुपर्छ,” प्रसाईंले भनिन्, “संविधान र लोकतन्त्र रह्यो भने कांग्रेसले भोलि फेरि जित्नेछ।”
बैठकमा उनले छिमेकी राष्ट्रसँगको कूटनीतिक सम्बन्ध र आगामी बाटोबारे पार्टीभित्र गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरिन्। साथै, विशेष महाधिवेशनको माग गर्ने ५४ प्रतिशत सदस्यले पनि नियमित महाधिवेशनलाई प्राथमिकता दिएको भन्दै यही केन्द्रीय समितिबाट कार्यतालिका तय गर्नुपर्ने सुझाव दिइन्।
उनले पार्टीभित्रको हालको विवादबारे पनि टिप्पणी गर्दै भनिन्, “डा. शेखर कोइरालाको प्रस्तावअनुसार अघि बढेको भए अहिले पार्टी नियमित महाधिवेशनको अन्तिम चरणमा पुग्थ्यो। बहुमतकै नाममा जायज माग र सुझाव नसुन्ने प्रवृत्तिले असन्तोष बढाएको छ।”










प्रतिक्रिया