Logo

राजनीति

ओलीले भने : ‘आफैंलाई कमजोर नपारौं, एकतामा जोड दिऔं’


२० कार्तिक २०८२, बिहिबार  

69
Shares

काठमाडौं । नेकपा एमालेको आधिकारिक पार्टी गीत बिहीबार एक विशेष समारोहका बीच विमोचन गरिएको छ । सो अवसरमा नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र एकता, आत्मसम्मान र सहकार्यको आवश्यकता औंल्याए ।

उनले भने, ‘आफैंले आफैंलाई कमजोर पार्ने कुरा किन गर्नु ? आफ्नै खुसीले विष किन खाने ? विष त राम्रो कुरा होइन त्यसले शरीरलाई जस्तै संगठनलाई पनि कमजोर बनाउँछ ।’

ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै, उनले पार्टीभित्र सहकार्य र कमरेडली भावनालाई मजबुत बनाउन आग्रह गरे । 

उनले भने, ‘पार्टीमा लाग्ने मान्छे अपमानित हुन, गाली खान वा हप्कीधप्की सहनका लागि लाग्दैन । आत्मसम्मानकै लागि लाग्छ । पार्टीमा साथीको भावना हुनुपर्छ । एकअर्कामा माया गर्ने, अप्ठ्यारा अवस्थामा सहयोग गर्ने र विचार तथा उद्देश्यका आधारमा एकता सुदृढ बनाउने गर्नुपर्छ ।’

ओलीले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थामा स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहनुपर्ने पनि उल्लेख गरे । उनले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थाका कारण प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नैपर्ने बताए ।

उनले भने, ‘एक आपसमा अप्ठ्यारा परिस्थतिमा सहयोग गर्ने, माया गर्ने एकअर्कालाई, साथसहयोग दिने र आफूबीचमा विचारका आधारमा, उद्देश्यका आधारमा एकता अत्यन्त सुदृढ बनाउने गर्नुपर्छ । यो प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । यसकारण प्रतिस्पर्धीहरुसँग प्रतिस्पर्धा गर्नैपर्छ । आपसमा एकता, विपक्षीसँग प्रतिस्पर्धा गर्ने हो ।’

कार्यक्रममा पार्टी गीतका स्रष्टा तथा नेताहरूसहितका विभिन्न स्तरका कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहिबार  ५ : ५३ बजे