काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरूसँग कर्जा विस्तार, डिजिटल बैंकिङ सेवा र व्यवसाय वृद्धिबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रका लागि विशेष कर्जा योजनाहरू, डिजिटल तथा नविनतम बैंकिङ सेवा, र वित्तीय सुरक्षासम्बन्धी उपायहरूबारे जानकारी दिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले विभिन्न पेशागत समूह र व्यवसायिक संघसंस्थाहरूसँग सहकार्य गर्दै यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले देशभर आम नागरिकको वित्तीय साक्षरता अभिवृद्धिका लागि बैंकले निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको पनि जानकारी दिनुभयो।
ग्लोबल आइएमई बैंक र नास–आईटीबीचको सहकार्यलाई सुदृढ बनाउँदै दुबै संस्थाका कर्मचारीहरूको ज्ञान, सीप र अनुभव विकासका लागि संयुक्त क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। साथै, ग्लोबल आइएमई बैंक नास–आईटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ।
बैंकले हालसम्म बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ तथा बेष्ट इम्प्लोयर अवार्ड जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।
मुलुकका ७७ वटै जिल्लामा सेवा सञ्जाल विस्तार गरेको ग्लोबल आइएमई बैंकले हाल ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाका साथै विश्वका विभिन्न देशहरू—जस्तै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनलगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।











प्रतिक्रिया