Logo

मुख्य समाचार

सरकार निर्वाचन गराउने पक्षमा देखिँदैन : पृथ्वीसुब्बा गुरुङ


१९ कार्तिक २०८२, बुधबार  

23
Shares

रामेछाप । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भदौ २३ र २४ को घटनालाई प्रतिगमन र प्रतिक्रान्तिकारी कदम भनेका छन् । 

प्रेस चौतारी नेपाल ओखलढुङ्गाले बुधबार ओखलढुङ्गामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई पनि असंवैधानिक सरकार भएको बताए । ‘असंवैधानिक रूपमा बनेको सरकारले निर्वाचन गर्ने ६ महिनाको म्यानडेट पाएको भए पनि निर्वाचन गराउने पक्षमा देखिँदैन, किनभने मुलुकको ठुलो राजनीतिक दलको नेतालाई स्थानहद तोकेर, पक्राउपुर्जी जारी गरेर मुलुकमा निर्वाचन हुन सक्दैन’, उनले भने ।

निर्वाचन हुने सम्भावना क्षीण हुँदै गएको र संविधान संकटमा परेकोले नेकपा एमालेले संसद् पुनस्र्थापनाको माग गरेको गुरुङले बताए । ‘संसद् पुनस्र्थापना भयो भने धेरै कुरा लिकमा आउँछ, त्यसकारण संसद् पुनस्र्थापनाको मागलाई लिएर हामी सडकमा उत्रिन लागेका छौँ’, उनले भने ।

एमालेले जनताको बिचमा गएर संसद् पुनस्र्थापनाको मुद्दालाई स्थापित गराउन वडादेखि काठडौंसम्म विभिन्न भेला, जनपरिचालन, जनसभा लगायतका कार्यक्रम गर्न लागेको उनले जानकारी दिए । यदि अदालतले निर्वाचनमा जाने फैसला ग¥यो भने त्यसलाई पनि एमालेले उपयोग गर्ने गुरुङले सुनाए ।

गुरुङले अहिलेको सत्तापलट जेनजीले नगरेको पनि दाबी गरे । जेनजीको नाममा पश्चिमा शक्ति तथा छिमेकका शक्ति लागेर सरकार अपदस्त र संसद् विगठन गराइएको उनले बताए । नेपालको सुरक्षा संयन्त्रलाई नै निकम्मा बनाएर देश जलाउने काम गरिएको उनको भनाइ छ । ‘राज्यका यी अङ्गको देशलाई बचाउने कुरा, संविधान बचाउने कुरामा जे भूमिका हुनुपथ्र्यो त्यो भएन’, उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रियता प्रति जे अडान थियो त्यसलाई भत्काउन भदौ २३ र २४ को घटना घटाइएको उनले बताए । आफ्नो स्वार्थ अनुकूलको सरकार बनाउने योजना अनुसार केपी ओली नेतृत्वको सरकार ढाल्न २३ र २४ को घटना गराइएको गुरुङको भनाइ छ । ‘सबै प्लानिङका साथ बदला लिने काम भएको हो’, उनले भने ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  ६ : १८ बजे