हेटौँडा । कुनै समय हजारौँ मजदुरले रोजगारी पाएको देशकै गर्वका रूपमा चिनिएको हेटौँडा कपडा उद्योग आजभोली सुनसान छ । झन्डै दुई दशकअघि बन्द भएको यो उद्योगको पुनः सञ्चालनको माग फेरि चर्किएको छ ।
हेटौँडा औद्योगिक क्षेत्रमा फैलिएको करिब २३६ रोपनी जग्गामा स्थापना गरिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकहरूलाई प्रत्यक्ष रोजगार दिएको थियो । सन् १९८० को दशकमा उत्पादनको चरमणमा पुगेको यो उद्योगले स्थानीयको घरघरमा उज्यालो ल्याएको सम्झना अझै ताजा छ ।
स्थानीय ९५ वर्षीय पूर्वकर्बछरी सूर्यबहादुर स्याङतान भन्छन्, ‘हामीले यही उद्योगमा बनेको कपडा लगाएर आफ्ना छोराछोरी पालेका थियौ। यो हाम्रो जीवनको अभिन्न अंग थियो । तर राजनीतिक अस्थिरता र गणतन्त्र आएपछि मात्रै यो उद्योग बन्द भयो । नयाँ सामान र प्रविधिसहित ल्याउने हो भने हामी आफैं यो उद्योग चलाइदिन्छौं, कुनै निजीकरण गर्नुपर्ने जरुरत छैन ।’
उनले थपे, ‘यहाँ अहिले खटाइएको सशस्त्र फोर्सलाई हटाएर यो उद्योग यहीको स्थानीयको जिम्मामा दिनुपर्छ । हामी फेरि यसको धुवाँ देख्न चाहन्छौ।’
हेटौँडा कपडा उद्योग वि.सं. २०५७ माघ १८ गतेको मन्त्रिपरिषद्को निर्णयले बन्द गरेको थियो । कर्मचारी भर्ती, प्रविधिको अभाव, बजार व्यवस्थापनमा कमजोरी र राजनीतिक हस्तक्षेपजस्ता कारणले उद्योग घाटामा गएको बताइन्छ ।
तर स्थानीयवासीहरूको दृष्टिमा यसको मूल कारण राजनीतिक अस्थिरता र सरकारी उदासीनता नै हो । उनीहरूका अनुसार यो उद्योग निजीकरण होइन, स्थानीय स्वामित्वमा सञ्चालन गर्न सके फेरि पनि हेटौँडाको पहिचान बन्न सक्छ ।
विगतको इतिहासले गर्व जगाएको यो उद्योग आज पनि स्थानीयको आशा र पहिचानसँग जोडिएको विषय बनेको छ । हेटौँडावासीको अपेक्षा छ, ‘कपडा उद्योगको चिम्नी फेरि बलोस्, अनि हेटौँडाको अर्थतन्त्रमा फेरि जीवन फर्कियोस\।’










प्रतिक्रिया