मकवानपुर । मकवानपुरको हेटौंडा–४ हुप्राचौरस्थित हेटौंडा फुटबल एकेडेमीले विगत १२ वर्षदेखि जिल्लामा फुटबल प्रतिभा विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक भीम लामा फुटबलप्रति समर्पित व्यक्तिका रूपमा चिनिन्छन् ।
बिहान ५ः३० बजेदेखि ८ः०० बजेसम्म बालबालिकालाई र ८ः०० बजेदेखि १०ः०० बजेसम्म युवाहरुलाई नियमित रूपमा प्रशिक्षण दिँदै आएका लामाले फुटबललाई आफ्नो जीवनको प्रमुख लक्ष्यका रूपमा अघि बढाएका छन् । एकेडेमीमा १४ वर्षमुनिका बालबालिकालाई हप्तामा पाँच दिन र १४ वर्षभन्दा माथिका खेलाडीलाई हप्तामा छ दिन तालिम गराइन्छ भने दैनिक ५० देखि ६० जना प्रशिक्षार्थी उपस्थिति रहने गर्दछन ।
वर्षायाममा यातायात समस्याका कारण सहभागी संख्या घट्ने गरेको प्रशिक्षक लामाले बताए । खेलाडीहरू प्रतियोगिताको तयारीमा रहेका बेला ट्याक्टिकल र ड्रिल गेम तालिम दिइने तथा अन्य समयमा आधारभूत सीप, डिफेन्सिङ, डिफेन्डिङ र आक्रमण अभ्यास गराइने गरिएको छ ।
खेलपछि खेलाडीको प्रदर्शन विश्लेषण गरी सुधारात्मक तालिम दिने एकेडेमीको पद्धतिले खेलाडीको व्यक्तिगत क्षमतामा उल्लेखनीय सुधार भएको बताइन्छ । हुप्राचौरमा केन्द्रित रहेर तालिम संचालन गरिरहे पनि लामाले मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र हेटौंडा–८ कमानेका खेलाडीलाई समेत प्रशिक्षण प्रदान गर्दै आएका छन् ।
सरकारी निकाय र जिल्ला फुटबल संघबाट अपेक्षित सहयोग नपाएको गुनासो गर्दै प्रशिक्षक लामाले फुटबलमार्फत देश विकासमा योगदान दिन सकिन्छ भन्ने सोचले आफू निरन्तर क्रियाशील रहेको बताए ।
आफ्नै लगानी र शुभेच्छुकहरूको सहयोगमा प्रशिक्षण पाएका खेलाडीलाई विभिन्न जिल्लाका प्रतियोगितामा सहभागी गराउँदै आएका लामाले खेलाडीहरू जिल्ला तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दै अनुभव र आत्मविश्वास बढाइरहेको बताए । स्थानीय सरकारले खेलकुदमा प्राथमिकता दिए फुटबलमा बिना राजनीतिक प्रभावको क्रान्ति ल्याउन सकिने उनको भनाइ छ ।
चुनौतीबीच पनि खेलाडीहरूबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको उनले बताए । सीमित स्रोत र सहयोग अभावका बीच प्रशिक्षक भीम लामाले हेटौंडा तथा मकवानपुरका युवालाई फुटबलको उज्यालोतर्फ प्रेरित गर्दै भविष्य निर्माणमा निरन्तर जुटिरहेका छन् ।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया