काठमाडौं । उर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रमुख कुलमान घिसिङले बक्यौता असुलीको विषयमा आफ्नो अडान फेरि पुष्टि गर्दै सबै उद्योग–व्यवसायीहरूलाई नियम अनुसार बक्यौता बुझाउन आग्रह गरेका छन् ।
घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लोडसेडिङका कारण देश अन्धकारमा डुबेको समयमा केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् आपूर्ति पाएका थिए । तर प्रिमियम महसुल बुझाउन अहिलेसम्म चुकाएका मानेका छैनन् । नियमित बिल तिरे पनि प्रिमियम महसुल नतिर्नेलाई ध्यानमा राख्दै प्राधिकरणले कानुन अनुसार लाइन काट्न बाध्य भएको हो उनले उल्लेख गरेका छन् ।
उनले लेखेका छन,“यो निर्णय नयाँ होइन । विगतमा चार पटकसम्म बक्यौता असुली प्रयास गर्दा पनि राजनीतिक हस्तक्षेप र अवरोध भएको थियो । २०८१ साल चैत ११ गते मैले कार्यकारी निर्देशकको हैसियतमा विनियमावलीअनुसार बक्यौता उठाउन पत्राचार गरेको थिएँ, त्यसै दिन मलाई पदबाट हटाइयो । मेरो इमानदार प्रयास नै पद गुमाउने कारण बन्यो ।”
सामाजिक सञ्जाल, सञ्चार माध्यम र श्रमिकहरू मार्फत केही ग्राहकको समर्थनमा भावनात्मक दबाब सिर्जना गर्ने प्रयास भइरहेको घिसिङले बताएका छन् । यदि बक्यौता नतिर्ने चलन बस्यो भने भोलि अन्य ग्राहकहरूले पनि नतिर्ने सम्भावना रहने भएकाले राज्य सञ्चालनमै त्यसले समस्या उत्पन्न हुने उनको भनाई छ ।
उनले सबै उद्योगी–व्यवसायी मित्रहरूलाई प्राधिकरणले दिएको किस्ता सुविधा प्रयोग गरेर बक्यौता रकम बुझाउन अनुरोध गर्दै,“यदि कसैलाई अन्याय भएको महसुस छ भने न्यायिक निकायमार्फत आफ्नो हक खोज्ने अधिकार सबैलाई छ,” भनेका छन् ।
घिसिङले यस कदमलाई व्यक्तिगत अहंकारको विषय नभई कानूनको पालना, संस्थाको प्रतिष्ठा र देशको हितमा गरिएको इमानदार प्रयास भएको स्पष्ट पारेका छन् । उनले जेन–जी पुस्ताले दिएको भ्रष्टाचार नियन्त्रण र सुशासनको जनादेश दृढताका साथ पूरा गर्ने पनि बताएका छन् ।










प्रतिक्रिया