Logo

मुख्य समाचार

वर्तमान सरकारले निर्वाचनको लागि सहज वातावरण बनाउनु पर्छ : प्रवक्ता महत


१३ कार्तिक २०८२, बिहिबार  

46
Shares

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समितिको बैठक निर्वाचन कसरी शान्तिपूर्ण बनाउने भन्ने कुरामा केन्द्रीत रहेको बताएका छन् ।

बिहिबार नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकपश्चात उनले देशलाई कसरी माथि उठाउने र सरकारले प्रस्तावित गरेको चुनावलाई कसरी शान्तिपूर्ण बनाउने भन्ने विषयमा बैठक केन्द्रीत रहेको बताए ।

उनले भने, ‘देशमा एउटा संकटको अवस्था छ यसबाट माथि कसरी उठ्ने भन्ने विषयमा साथिहरुले चिन्ता प्रकट गर्नु भएको छ त्यसैगरि सरकारले प्रस्तावित गरेको आउदो चुनावलाई कसरी शान्तिपूर्ण बनाउने, शान्तिपूर्ण हुन्छ कि हुदैँन्, अझै पनि गाँउ गाँउमा सुरक्षाको प्रत्याभूति छैन् । यसबारेमा पनि साथिहरुले कुरा उठाउनु भएको छ ।’

यस्तै, उनले समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानुपर्ने सबैको धारणा रहेको भन्दै यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले यसलाई बढि प्राथमिकता दिने बताए ।

उनले भने, ‘समग्रमा निर्वाचनको अवस्था बन्यो भने निर्वाचनमा जानु पर्छ भन्ने कुरा आएको छ । साथै पार्टीमा अधिवेशनको कुरा जुन आएको छ, धेरै जसो साथिहरुले यो नियमित अधिवेशनमा जानु पर्ने कुरा गर्नु भएको छ । यो निर्वाचन राष्ट्रिय निर्वाचन भएको हुनाले राष्ट्रिय निर्वाचनलाई प्राथमिकता दिने कुरा गर्नु भएको छ । त्यसपछि अधिवेशनमा जाने कुरा त जानै पर्छ ।’

साथै, उनले वर्तमान सरकार सुशासनसँगै आउदो निर्वाचनलाई शान्तिपूर्ण बनाउने प्रयासमा लाग्नु पर्ने भन्दै त्यसको लागि बाहिर गएको हतियार र कैदीलाई नियन्त्रणमा लिनुपर्ने बताए ।

उनले भने, ‘सुशासनको कुरामा सरकारले गर्नुपर्ने काम पनि गरोस र सँगसँगै मुख्य ध्यान निर्वाचन तर्फ पनि लानु पर्छ । त्यसको आधार र वातावरण सिर्जना गर्नुपर्छ । बाहिर गएको हतियारलाई नियन्त्रणमा लिनुपर्यो र कैदीहरुलाई पुन पक्राउ गर्नुपर्यो । समग्र रुपमा जनताको बीचमा जाने वातावरण बनाउनु पर्छ ।’

सुशासन सुनिश्चित गर्ने कुरामा सबै प्रतिबद्ध रहेको भन्दै यसमा सरकारसँग विमति हुनुपर्ने कुनै कुरा नभएको पनि उनको भनाई छ ।

उनले भने, ‘सुशासन सुनिश्चित गर्ने कुरामा हामी सबै प्रतिबद्ध छौ । हिजो भएको त्रिपक्षिय बैठकमा सहभागि दलहरुले पनि त्यही कुरा गर्नु भएको थियो । जेनजीका प्रतिनिधिहरुले पनि त्यही कुरा गरेका थिए । यसमा विमति हुनुपर्ने कुनै कुरा छैन् । हामीले आफैले पनि यो सरकारको कार्यभार भनेको निर्वाचन हो समय पनि धेरै छैन्, तपाईहरु निर्वाचनमा गम्भिर हुनुहुन्छ भने त्यो किसिमको परिस्थिती निर्माण गर्नु, आग्रह, पूर्वाग्रह राख्ने काम नगर्नु भनेका छौ । तर जसले कानून तोडेको छ र सत्ताको दुरुपयोग गरेको छ त्यसको छानबिन गर्नको लागि राज्य संरचना छ त्यसमा हामी कसैले पनि छानबिन गर्नु हुदैँन् भनेर भनेका छैनौ । तर बिना प्रमाण र आधार गर्नु हुदैँन् भन्ने मात्र कुरा हो ।’

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ७ : ४३ बजे