Logo

मुख्य समाचार

कांग्रेसका जेनजीहरुको माग : विधान संशोधन गरेर हाम्रा लागि ढोका खुला गरियोस


१३ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । नेपाली कांग्रेसका जेन–जी उमेर समूहका प्रतिनिधिमूलक युवाहरुले विधान संशोधन गरेर आफूहरुको प्रवेशको लागि ढोका फराकिलो बनाउन माग गरेका छन् ।

कांग्रेस पार्टीको युवाहरुलाई फर्काउनको लागि पनि केन्द्रीय समितिको बैठकले विधानमा संशोधनको ढोका खोलेर पार्टीका सबै तहमा प्रतिस्पर्धामार्फत जेनजी उमेर समूहका प्रतिनिधित्व सुनिश्चित् गराउने प्रावधान व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग छ ।

उनीहरुले अघि सारेको ह्यासट्यागमा जेनजी फर सेभेन डी रहेको छ । सेभेन डी भनेको डेमोक्रेसी, डेभलपमेन्ट, डेडिकेशन, डिग्निटी, डिसिप्लेन, डेलिभरी र डिटिल ट्रान्सफरमेशन रहेको छ ।

उनीहरुले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुप्रति साँचो श्रद्धाञ्जलीको लागि देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्नुपर्ने बटमलाईन बनाएका छन् । उनीहरुले अब सबै बदलिनुपर्ने र सबै मिलेर देश बदल्नुपर्ने अपिलसमेत गरेका छन् ।

बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले मुलुकमा सुशासनको स्थापना गर्नु नै जेनजी प्रदर्शनको मूख्य माग रहेको स्मरण गराएका छन् ।

उनीहरूद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकमा सुशासनको स्थापना जेनजी प्रदर्शनको मूलतः मुख्य माग थियो । नेपाली कांग्रेसले आँफैभित्र पनि आन्तरिक सुशासन आयोग गठन गरोस । जसले तिनै तहको सरकारमा गएका प्रतिनिधिको विगतको प्रवृत्ति समिक्षासँगै भविष्यमा जाने प्रतिनिधिको भूमिकालाई निश्चित् मापदण्डका आधारमा अनुगमन गरेर, प्रोत्साहन, चेतावनी र कारबाही सिफारिश गर्न सकोस् ।’

यस्तै, उनीहरुले भदौ २३ गते नयाँ बानेश्वरमा प्रदर्शनमा अध्यधिक बल प्रयोगको घट्नाको गहिरो छानबिन र दोषीलाई कडा कारबाही गर्ने भनिसकिएकोमा त्यस निर्णयप्रति पार्टी प्रष्ट ढंगले उभिनुपर्ने उनीहरुको माग छ ।

यस्तै, भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा सामेल जो कोही भएपनि उनीहरुलाई कारबाहीमा दायरामा ल्याईनुपर्ने उनीहरुको अर्को माग छ ।

भ्रष्टाचारका हरेक प्रकरणको गहिराईमा गएर निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको प्रष्ट प्रतिबद्धता आउनुपर्ने र सहयोग रहनुपर्ने पनि उनीहरुको माग छ । उनीहरुले पार्टीको नियमित वा विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक दलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप अब कांग्रेसले सार्वजनिक गर्नुपर्ने पनि उनीहरुको सुझाव छ ।

उनीहरुले अघि सारेको अर्को मुख्य मागमा फागुन २१ म तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई सुनिश्चित् बनाउने र निर्वाचनमार्फत लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा समेत पार्टी अग्रसर हुनुपर्ने उल्लेख गरिएको छ ।

उनीहरुको चुनावको लागि कांग्रेसले अब ‘भोट रेडी नेपाल’ अभियान सञ्चालन गर्नुपर्ने पनि सुझाव दिएका छन् । उनीहरुले कांग्रेसमा नवयुवा जोड्ने नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संगठनलाई पनि पूनःसंरचना गर्न अपरिहार्य रहेको आवश्यकता औंल्याएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ५ : २० बजे