Logo

मुख्य समाचार

भारतमा हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सभामा सहभागी हुन मन्त्री कुलमान घिसिङ प्रस्थान


१० कार्तिक २०८२, सोमबार  

46
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ सोमबार अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को आठौं महासभामा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

घिसिङ राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको विमानबाट अपरान्ह भारतको नयाँ दिल्ली पुगेका हुन् । कार्तिक १० देखि १३ गतेसम्म नयाँ दिल्लीमा हुने सभामा ४० भन्दा बढी देशका ऊर्जा मन्त्रीहरू सहभागी हुने छन् ।

सभामा सौर्य ऊर्जा प्रवर्द्धन, दिगो ऊर्जा आपूर्तिको विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरलगायत विषयमा उच्चस्तरीय छलफल हुनेछ । मन्त्री घिसिङले नेपालको तर्फबाट सभामा सहभागिता जनाई सम्बोधन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जाको प्रयोग विस्तार र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने प्रतिबद्धता जनाउँदै यो सभामा सहभागी भएको हो । मन्त्री घिसिङले क्षेत्रीय तथा विश्वस्तरको स्वच्छ ऊर्जा रूपान्तरण र अन्तरआवद्धताको परिकल्पनाबारे विषयगत सत्रमा विशेष सम्बोधन गर्ने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ ।

सन् २०१५ नोभेम्बरमा पेरिस घोषणासँगै सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको उपयोग अभिवृद्धि गर्ने साझा लक्ष्यसहित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापना गरेका थिए । सन् २०३० सम्ममा सौर्य ऊर्जामा एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने उद्देश्य गठबन्धनको रहेको छ ।

प्रतिनिधि सभाले संरचना सम्झौता अनुमोदन गरेपछि नेपाल २०८१ साल भदौमा आईएसएको १०१औं सदस्य राष्ट्रको रूपमा आवद्ध भएको हो । मन्त्री घिसिङ बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।

भारत प्रस्थानका क्रममा उनले विमानस्थलमा भीआईपी सुविधा नलिइ साधारण यात्रुको रूपमा यात्रा गरेपछि सामाजिक सञ्जालमा उनको प्रशंसा गरिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ४ : ०३ बजे