काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले छठ पर्वपछि देशव्यापी बन्दको चेतावनी दिएका छन्। उनले संविधान फेरेर वैदिक सनातन हिन्दू अधिराज्य स्थापना नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रसाईँले कात्तिक १५ गतेपछि नेपाल ठप्प पारिने बताए। उनले नागरिकलाई डिजेल, पेट्रोल र खाद्यान्नको जोहो गरेर राख्न आग्रह गरेका छन्।
“अब हामीले छठपछि नेपाल बन्द गर्छौं, मेचीदेखि महाकालीसम्म,” प्रसाईँले भने, “जबसम्म यो संविधान हटाउँदैनौं र हिन्दू अधिराज्य स्थापित गर्दैनौं, तबसम्म आन्दोलन जारी रहन्छ।”
उनले आफूहरुको आन्दोलनका प्रमुख एजेण्डामा २० लाख रुपैयाँभन्दा कम ऋण मिनाहा, लिलाममा गएको सम्पत्ति पीडितलाई फिर्ता, सरकारको ग्यारेन्टीमा २५ वर्षसम्म ऋण तिर्ने व्यवस्था, शिक्षक–कर्मचारीको न्यूनतम तलब एक लाख रुपियाँ बनाउने, भ्रष्टाचार अन्त्य गर्ने र किरात, बौद्ध लगायत सबै समेट्ने हिन्दू अधिराज्य स्थापनाको माग रहेको बताए।
प्रसाईँले यो आन्दोलन संविधानविरुद्ध भएको र वर्तमान व्यवस्थाले जनताको समस्या समाधान नगरेको दाबी गर्दै कडा संघर्षको घोषणा गरेका हुन्।
प्रतिक्रिया