Logo

धर्म / संस्कृति

आज देशभर काग तिहार पर्व मनाइँदै



काठमाडौं । आज देशभर काग तिहार पर्व मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यो पर्व यमराजका दूतका रूपमा कागलाई पूजा आराधना गरी मीठा परिकार खुवाएर मनाइने परम्परा रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालका अनुसार यस वर्ष त्रयोदशी तिथि आइतबार सूर्योदयकालमै परेकाले आजै काग तिहार पर्व मनाइँदै छ।

हिन्दू धर्मशास्त्रअनुसार कागलाई यमराजका दूतका रूपमा मानिन्छ। कागले यमराजसमक्ष लोकका समाचार पुर्‍याउने विश्वास रहेको छ। त्यसैले आजका दिन कागलाई दहीभातलगायत मीठा परिकार खुवाई पूजा गर्ने चलन छ।

‘काकेन दधि भक्षितम्’ भन्ने शास्त्रीय उद्धरणअनुसार कागलाई दहीभात विशेष प्रिय हुने भएकाले आजको दिन कागलाई दहीभात अर्पण गर्ने परम्परा छ। लोकविश्वासअनुसार काग घर वरपर कराएमा शुभ समाचारको सङ्केत मानिन्छ।

यस अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिँदै छ।

काग तिहारसँगै यमपञ्चक पर्वको सुरुवात पनि शनिबार बेलुकीदेखि भइसकेको समितिले जनाएको छ। शनिबार सायंकालदेखि नै परिवारका सदस्यका नाममा यम दीपदान गर्ने क्रम सुरु गरिएको हो। वैदिक परम्परा अनुसार यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने मान्यता छ।

यसअघि शनिबार नै धनतेरस पर्व मनाइएको थियो। यस दिन गरगहना तथा तामाका भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर हुने धार्मिक विश्वास रहेको छ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : ०३ बजे