काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. राम कृष्ण श्रेष्ठले नेपालमा मात्र नभई संसारमै युवाहरु कृषिमा आकर्षित नभएको बताएका छन् ।
भविष्यमुखी कृषिको मार्गचित्र ः प्रस्तुति र छलफल कार्यक्रममा बोल्दै उनले कृषिमा युवाहरुको उपस्थिती नरहेको अवस्थामा नेपाल जस्तो देशमा अझ विशिष्ट परस्थिती रहेको बताएका हुन् ।
उनले भने, ‘संसारमै हेर्ने हो भने युवाहरु कृषिमा आकर्षित छैनन् । कृषिमा युवाहरुको उपस्थिती कमै छ । हाम्रो जस्तो देशमा अझ विशिष्ट परस्थिती छ । त्यसकारण हाम्रो कृषि बचाउने हो भने चाँही युवा कृषिमा आउनु विकल्प छैन ।’
साथै, उनले वैकल्पिक खेतिपातिलाई दिगो खेतिपातिको अभ्यासमा जानुपर्छ भनेर सरकारले धेरै पहिलेदेखि नै प्रयास गरिरहेको बताए । उनले कुनै पनि कुरा निरपेक्ष नहुँने भन्दै अहिले पनि ७ हजार कृषकहरु आत्महत्या गर्दै आइरहेको बताए ।
उनले भने, ‘अहिले भाइरल हुने जमाना छ । त्यसैले जिम्मेवारी बोध हुनेगरी काम गर्न आवश्यक छ । कुनै पनि कुरा निरपेक्ष हुँदैहुँदैन । सबै कुरा सापेक्ष हुन्छ । अहिले पनि ७ हजार कृषकहरु आत्महत्या गर्दै आएका छन् । हामी ईतिहासलाई गाली गरेर कतै पनि पुग्दैनौं । हामीले वैकल्पिक खेतिपातिलाई दिगो खेतिपातिको अभ्यासमा लानुपर्छ भनेर धेरै पहिलेदेखि नै प्रयास गरिरहेका छौं । तर यसमा के भयो भएन कृषि निकायले के के गरेन भन्ने कुराहरु आयो त्यसमा पनि सबैले व्याख्या विश्लेषणहरु गर्न सक्नुहुन्छ । यसमा निष्पक्ष रुपमा व्याख्या गर्नुपर्छ ।’
यसैगरी जेनजी कृषक दिपेश नेपालले घरमा विवाद गरेर खेतिपातिमा लागेको बताए । उनले कृषक भएकै कारण केटी माग्न जाँदा छोरी दिने की नदिने भन्ने जटिल प्रश्न बन्दै गएको बताए ।
उनले भने, ‘घरमा विवाद गरेर खेतिपातिमा लागेको छु । म अविवाहित हुँ तर केटी माग्न गयो भने कसले छोरी दिन्छ ? यो एकदम जटिल प्रश्न हो मेरो ।’
प्रतिक्रिया