काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफूले पार्टी सभापति शेरबहादुर देउवासँग कार्यवाहक पद मागेको भन्ने विषयमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएका छन्।
आइतबार स्वकीय सचिव दिनेशचन्द्र थपलियाद्वारा जारी गरिएको विज्ञप्तिमा सो समाचारलाई “तथ्यहीन, भ्रामक र कपोलकल्पित” भन्दै खण्डन गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “देउवासँग शेखरले कार्यवाहक मागेको दाबी शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा संस्थापन पक्षको नाम लिएर उल्लेखित कुराहरू पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित छन्। समाचारमा उल्लेख गरिएका विषयहरूमा कुनै पनि सत्यता नरहेको स्पष्ट पार्न चाहन्छु।”
कोइरालाले पार्टीभित्रको आन्तरिक छलफललाई तोडमोड गरी सार्वजनिक गरिने प्रयासहरूलाई भ्रामक रणनीति भन्दै यस्ता समाचारहरू प्रचारमा नआउन आग्रह गरेका छन्।
यसअघि केही सञ्चारमाध्यममा कोइरालाले देउवासँग कार्यवाहक पद मागेको दाबी गर्दै समाचार प्रकाशित भएका थिए।
प्रतिक्रिया