Logo

अर्थ

रामेछाप नगरपालिकाको गत आर्थिक वर्षको बजेट ८३ प्रतिशत खर्च



रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा कुल बजेटको ८३.०७ प्रतिशत मात्र खर्च गरेको छ ।

आइतबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत भोलाप्रसाद चापागाईंले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

उनका अनुसार चालुतर्फ रु ४४ करोड १८ लाख ५ हजार ८ सय ७६ पूँजीगततर्फ रु १९ करोड ६९ लाख ५५ हजार ९ सय ६८ गरी कुल रु ६३ करोड ८७ लाख ६१ हजार ८ सय ४५ बजेटमध्ये ८३.०७ प्रतिशत मात्र खर्च भएको हो ।

वार्षिक समीक्षामा सामाजिक विकास, सुशासन तथा संस्थागत विकास र पूर्वाधार विकास शाखा अन्तर्गतका कार्यक्रमहरूका उपलब्धि तथा कार्य प्रगतिको विस्तृत विवरण प्रस्तुत गरिएको थियो ।

कार्य प्रगति अपेक्षाअनुसार नहुनुको कारणबारे जानकारी दिँदै प्रमुख प्रशासनिक अधिकृत चापागाईंले योजना सम्झौता ढिलो हुने, ठेक्का प्रक्रिया समयमा सम्पन्न नहुने र असार मसान्तमा मात्र काम सक्नुपर्ने मानसिकताका कारण लक्ष्यअनुसार प्रगति नदेखिएको बताए ।

रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना (खड्का) कार्की प्रमुख अतिथि थिइन् ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : ११ बजे