Logo

मुख्य समाचार

इजरायल र हमासबीच युद्धविराम सम्झौता, सबै बन्धक मुक्त गर्ने सहमति


२४ आश्विन २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । इजरायल सरकारले शुक्रबार बिहान हमाससँग गाजाको युद्ध अन्त्य गर्ने र बाँकी सबै बन्धकहरू मुक्त गर्ने उद्देश्यले तयार गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जीवित र मृतक सबै बन्धकहरूको मुक्तिका लागि सहमति भएको ढाँचा स्वीकृत गरेको छ ।’ यो प्रस्तावलाई पर्याप्त मत प्राप्त भए पनि इजरायली मन्त्रीहरू इतामार बेन–गभिर र बेजालेल स्मोट्रिचजस्ता कट्टरपन्थी नेताहरूले यसको विरोधमा मतदान गरेका थिए ।

सम्झौता अनुसार, ‘सरकारको अनुमोदनसँगै युद्ध तुरुन्त अन्त्य हुनेछ । सबै सैन्य गतिविधि, जसमा हवाई र तोप बमबारी तथा लक्ष्य निर्धारण कारबाहीहरू रोक्का गरिनेछ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विटकफ र उनका ज्वाईं जारेड कुश्नर पनि उक्त मन्त्रिपरिषद् बैठकमा उपस्थित थिए । सम्झौताअनुसार हमासले इजरायली फौज फिर्ता भइसकेको ७२ घण्टाभित्र २० जना जीवित बन्धक र २८ जनाको शव फिर्ता गर्नेछ । यसको साटोमा इजरायलले करिब २,००० पालेस्तिनी कैदीहरूलाई मुक्त गर्नेछ ।

तीमध्ये करिब २७० जना इजरायली नागरिकमाथि आक्रमणमा संलग्न अभियोगमा दोषी ठहरिएका छन् भने बाँकी करिब १,७०० जना गाजाका बासिन्दा हुन्, जसलाई बिना मुद्दा पक्राउ गरिएको थियो । तीमध्ये २२ जना १८ वर्षमुनिका किशोर छन् । साथै, इजरायलले ३६० जना गाजाली लडाकुहरूको शव पनि फिर्ता गर्नेछ ।

यो ऐतिहासिक युद्धविराम सम्झौता इजीप्टको शर्म एल–शेखमा तीन दिनसम्म चलेका अप्रत्यक्ष वार्ताबाट भएको हो, जसमा अमेरिका, इजीप्ट, कतार र टर्कीले मध्यस्थता गरेका थिए । दुई वर्षदेखि जारी इजरायली आक्रमणले गाजालाई पूर्णरूपमा ध्वस्त पारेको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार, युद्धका कारण हालसम्म ६७ हजारभन्दा बढी पालेस्तिनीले ज्यान गुमाएका छन् र लाखौँ मानिस भोकमरी र मानवीय सङ्कटमा परेका छन् ।

सीसीटीभी

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १० : ४० बजे