रौतहट । लामो समयदेखि बक्यौता तलब तथा सेवा सुविधा नपाएको भन्दै कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले धर्ना संगै नगरपालिकाको १ देखि ९ नम्बर वडासम्मका सम्पूर्ण कार्यालयहरूमा तालाबन्दी पनि गरेका हुन् ।
तालाबन्दीका कारण नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ । कटहरिया वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवले सबै वडाका कर्मचारीहरूले सामूहीक रूपमा तालाबन्दी गर्दै कार्यालयका साँचो (चाबी) आ–आफ्नो जिम्मामा राखेको जानकारी दिए ।
यसैगरी, वडा नम्बर १ मा कार्यरत करार कर्मचारी मुकेश कुशवाहाले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । यस अघि संयुक्त रूपमा नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको भएपनि मागको बेवास्ता भएको उनीहरुको गुनासो छ ।
जसमा तलब तथा सेवा सुविधाको तुरुन्त भुक्तानीको माग गरिएको थियो । तर, नगरपालिकाले पटक–पटक आश्वासन मात्र दिँदै आएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । नगर प्रमुख अजय प्रकाश जयसवालले तिहार अघि नै करार कर्मचारीको समस्या समाधान गरिने जानकारी दिए ।
उनले कर्मचारीहरूले मागेका आवश्यक कागजात बुझाएमा तलब उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइने बताए । उनले वडा कार्यालयको तालाबन्दी खोल्न वडा अध्यक्षहरूलाई आग्रह पनि गरे ।
प्रतिक्रिया