Logo

मुख्य समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ करोडभन्दा बढी भ्रष्टाचार, पूर्व उपकुलपतिसहित १३ जनामाथि मुद्दा


२३ आश्विन २०८२, बिहिबार  

23
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा १२ करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गर्दै पूर्व उपकुलपति प्रा. डा. संगीतासिंह भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार दाङको घोराहीस्थित प्रतिष्ठानमा कम गुणस्तरको एमआरआई मेसिन खरिद गरी आर्थिक अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानपछि १२ करोड ७ लाख ६० हजार ९०० रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

मुद्दामा डा. भण्डारीसँगै तत्कालीन कार्यवाहक रजिस्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, डेपुटी फाइनान्स मेनेजर नीतिन कुर्मी, शाखा अधिकृतहरू छाया डिसी र श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी, बायोमेडिकल इन्जिनियरहरू शरद भण्डारी र सुजाता भट्टराई, वरिष्ठ सहायक अन्जु शर्मा, त्रिवि शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी र लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोस्टराज ज्ञवालीसमेत प्रतिवादी बनाइएका छन्।

आयोगले प्रतिवादीहरूसँग बराबरको रकम बिगो मागदाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  २ : ४९ बजे