काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनामा सुरक्षा सुनिश्चित गर्न गृह र ऊर्जामन्त्रीलाई पत्र पठाएको छ।
इप्पानका अध्यक्ष गणेश कार्कीले आइतबार पठाएको पत्रमा निर्माण सम्पन्न, निर्माणाधीन र आगामी आयोजना कार्यहरूमा सरकारको नीति विपरीत १० प्रतिशत निःशुल्क सेयर माग गर्ने तथा अवरोध गर्ने घटनाहरू बढिरहेको भन्दै तत्काल सुरक्षा व्यवस्था गर्न आग्रह गरिएको छ।
पत्रमा सिन्धुपाल्चोकको भोटेकोसी ४५ मेगावाट जलविद्युत् आयोजना १७ दिनदेखि बन्द रहेको उल्लेख गरिएको छ। आयोजनामा विद्युत गृह बन्द हुँदा दैनिक करिब ९८ लाख रुपैयाँ घाटा भएको र हालसम्म १६ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी भएको जनाइएको छ।
इप्पानले जुगल गाउँपालिकामा १० आयोजना र अन्य क्षेत्रमा पनि निःशुल्क सेयर मागेर अवरोध गर्ने घटना बढिरहेको जानकारी गराएको छ। यसले आयोजनाको लागत र समय बढाउने र निजी लगानीलाई निरुत्साहित गर्ने चिन्ता व्यक्त गरिएको छ।
पत्रमा ऊर्जा आयोजनामा विभिन्न समूहबाट तोडफोड, आगजनी र आक्रमण बढिरहेको उल्लेख गर्दै दीर्घकालीन लगानी सुरक्षाका लागि छुट्टै ऊर्जा सुरक्षा नीति निर्माण गर्न सरकारसँग माग गरिएको छ।
प्रतिक्रिया