तनहुँ — आँबुखैरेनी गाउँपालिकाले दसैँलाई लक्षित गर्दै ज्येष्ठ नागरिकलगायत लाभग्राहीलाई टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक भत्ता वडास्तरका विभिन्न स्थानमा गएर वितरण गरेको हो।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाका अनुसार भत्ता वितरणका लागि विभिन्न बैंकका कर्मचारी खटाइएकाले लाभग्राहीलाई बैंकसम्म जानुपर्ने बाध्यता हटेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानले ज्येष्ठ नागरिकलाई झन्झटरहित सेवा दिने उद्देश्यसहित घरदैलोमै पुगेर भत्ता वितरण गरिएको बताए।
गाउँपालिकाले वडा नं १ देखि ६ सम्मका दर्जनौँ टोलमा पुगेर भत्ता वितरण गरिसकेको छ। अन्तिम दिन शुक्रबार वडा नं २ को अदुवाखर्क, घोक्रिङ खर्क, सहकारी टोल र वडा नं ३ को आँबुगाउँ, कोटगाउँ, धारापानीमा भत्ता वितरण गरिएको थियो।
गाउँपालिकाले ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण र अशक्त अपाङ्ग, तथा पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न बैंकमार्फत घरदैलोमै पुगेर भत्ता वितरण गर्दै आएको छ।
प्रतिक्रिया