Logo

खेलकुद

एसिया कपको उपाधि भिडन्तमा आज भारत र पाकिस्तान



काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी एसिया कपको उपाधिका लागि आज भारत र पाकिस्तान आमनेसामने हुने भएका छन्। फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ८:१५ बजे सुरु हुनेछ।

समूह चरणमा भारतले पाकिस्तानलाई दुई खेलमै पराजित गरेको थियो। पहिलो खेलमा भारतले सात विकेट र दोस्रो खेलमा छ विकेटको जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो। पाकिस्तानले भने सुपर चारमा बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्तमा स्थान पाएको हो।

एसिया कपको इतिहासमा पाकिस्तानले अहिलेसम्म टी–२० प्रारुपको उपाधि जित्न सकेको छैन। एकदिवसीय प्रारुपमा भने उसले दुईपटक उपाधि चुमिसकेको छ। भारतले यसअघि सातपटक एकदिवसीय र एकपटक टी–२० प्रारुपमा गरी कुल आठपटक उपाधि जितेको छ।

आजको फाइनल खेललाई दुवै देशका समर्थकहरूले उच्च चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  १ : ३३ बजे