काठमाडौं। नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्न नेकपा (एकीकृत समाजवादी) ले वार्ता टोली गठन गरेको छ। पार्टीका वरिष्ठ नेता डा. बेदुराम भुसालको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीमा प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य रहेका छन्।
पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी विज्ञप्तिमा वार्ता टोलीले वामपन्थी, कम्युनिष्ट र समाजवादी पार्टी तथा समूहहरूसँग एकता वार्ता अघि बढाउने उल्लेख गरिएको छ। विज्ञप्तिअनुसार एकताका सैद्धान्तिक आधारहरूमा पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” राख्ने, नेपाली क्रान्तिको जनवादी चरण पूरा भइसकेको र अहिले समाजवादी चरणमा प्रवेश भइसकेको मान्ने तथा वर्तमान समाजमा आम जनता र दलाल नोकरशाही पूँजीपति वर्गबीचको अन्तर्विरोधलाई मुख्य अन्तर्विरोधका रूपमा स्वीकार गर्ने उल्लेख छ।
यसअघि माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चाबीच एकीकरण र ध्रुवीकरणका प्रयासहरू भइरहेको जानकारी दिएका थिए। समाजवादी मोर्चामा हाल माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी छन्।
प्रतिक्रिया