‘नयाँ पुस्ताको माग र आकांक्षा पहिचान गरेर सम्बोधन गर्न आवश्यक’
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केहीपनि गर्न नसक्ने भन्दै आलोचना गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्,‘दलका नेताहरूले बाहिर चाँही धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने यस्तो तरिकाको सार्वजनिक आलोचना छ । त्यसैले सबैको कुरा सुन्नुपर्छ । सोही आधारमा पार्टीको मर्म अनुसार काम गर्न सकेको छ कि छैन् बुझ्न आवश्यक छ । नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्नसक्छ, त्यसमा ध्यान दिनुपर्छ । नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्छ ।’
त्यस्तै उनले सधैं यस्तो अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै समाधान निकाल्नुपर्ने धारणा राखिन् । शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उनले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणका काम अगाडि बढाउन आग्रह गरिन् ।
‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नुपर्छ । शक्तिका स्रोत भनेका जनताहरु हुन् । जनताहरुका बीचमा गएर राजनीतिक आफ्नो नीति, दर्शन अनुसार कार्यक्रम गर्नुभएको छ कि छैन् त्यो बुझ्नुपर्छ । जनताले के सुझाव दिन्छन् त्यस आधारमा अघि बढ्नुपर्छ । पार्टीहरुकाबीच पनि समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यक छ । पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएमात्र समस्यालाई समाधान दिन सक्छौं । शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्छ । राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो गरी अगाडि बढाउन आग्रह गर्छु ।’
प्रतिक्रिया