Logo

मुख्य समाचार

रणबहादुर शाहको पालादेखिको हाटमा दशैं किनमेल गर्नेको भीड


१० आश्विन २०८२, शुक्रबार  

23
Shares

रामेछाप । पुरानो इतिहास बोकेको रामेछाप नगरपालिका–८ रामेछापको बिहीबारे हाटमा दशैँको किनमेल गर्ने मानिसहरूको भीड लागेको छ ।

राजा रणबहादुर शाहको पालादेखि लाग्दै आएको रामेछापको हाट मध्यपूर्व नेपालको ठुलो हाट मध्येको हाट हो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारमा तिज, दशैँ, तिहार लगायतका पर्व अगाडिका बिहीबारको दिन क्रेता र बिक्रेताहरूको बाक्लो उपस्थिति हुने गर्दछ ।

बिहीबारको हाट हिउँदमा गहत, मस्याङलगायतका गेडागुडी खरिद बिक्रीको लागि तथा दशैँको समयमा कुखुरा, बोका र खसी किनबेचको लागि निक्कै चर्चित छ । बिहीबारको हाटमा अन्य उपभोग्य सामाग्रीको साथै खसी, बोका र कुखुरा तथा कपडा, तरकारी लगायतका सामान खरिद गर्ने मानिसहरूको निक्कै भीड थियो ।

हाटमा खसी–बोका तथा उपभोग्य सामान खरिदको लागि जिल्लाका विभिन्न भागका साथै दोलखा, सिन्धुली, ओखलढुङ्गा, काभ्रे लगायतका जिल्लाका मानिसहरू भेला भएका थिए । खसी, बोका र कुखुरा बिक्री गर्न रामेछाप र सिन्धुलीका किसानहरूले रामेछाप हाटमा ल्याएका थिए । 

रामेछाप हाटमा पहिला सिन्धुलीको तीनपाटन, ग्वालटार लगायतको क्षेत्रबाट चामल, चिउरा, सिन्धुलीको बितिजोरबाट केरा, रामेछापका विभिन्न गाउँबाट तरकारी र तराइसम्मका व्यापारीहरूले दैनिक उपभोग्य सामान बिक्रीको लागि ल्याउने गर्दथे ।

अहिले सडक विस्तारसँगै रामेछाप बजार आउने उपभोग्य सामान र उपभोक्ताको क्षेत्र साँघुरिँदै गएको छ । तथापि चाडबाडमा भने विशेष हाट लाग्ने गर्दछ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ७ : ५५ बजे