चितवन । चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि जिप सफारी सञ्चालन गर्ने तयारी गरेको छ । वर्षायाममा कच्ची वनपथ बिग्रिने, खोलामा भलबाढी आउने, रुख लड्ने र मानवीय जोखिम हुने कारण देखाउँदै गत असार १६ गतेदेखि निकुञ्जभित्र जिप सफारी बन्द गरिएको थियो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार फूलपातीअघि जिप सफारीका लागि अनुमति दिने तयारी भइरहेको छ । उनका अनुसार असोज १२ वा १३ गतेदेखि व्यावसायिक जिप सफारी सञ्चालन हुने सम्भावना छ । त्यसका लागि जिप दर्ता र नवीकरण प्रक्रिया थालिएको छ ।
गत वर्ष सञ्चालन भएका जिपलाई मात्र यस वर्ष नवीकरण गरिने र जीर्ण जिपलाई मर्मतसम्भार गरेर मात्र अनुमति दिने तयारी गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जभित्रका बाटो मर्मत र झाडी फाँड्ने काम पनि सुरु गरिएको छ ।
निकुञ्जभित्र सौराहाबाट ३२, कसराबाट १६, मेघौलीबाट नौ, उजौलीबाट दुई, अमलटारीबाट पाँच र माडीबाट एउटा गरी जिप सफारी सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया