काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै आगामी फागुन २१ गतेभित्र स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन गराउन आवश्यक सम्पूर्ण तयारी पूरा गरिने स्पष्ट पार्नुभएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सम्पन्न गर्न जनशक्ति, बजेट, सुरक्षा र कानुनी व्यवस्था सुनिश्चित गरिएको बताउनुभयो।
प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकहरूलाई पनि मतदानको अवसर दिने सम्भावनाको विषयमा छलफल भइरहेको जानकारी दिनुभयो। निर्वाचनलाई समावेशी बनाउँदै सबै राजनीतिक दलहरूलाई चुनावमा सहभागी हुन आह्वान समेत गर्नुभएको छ।
भ्रष्टाचारविरुद्ध सरकारको कडा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्रीले सेवाग्राहीसँग अपमानजनक व्यवहार गर्ने, घूस माग्ने र ढिलासुस्ती गर्ने कर्मचारीविरुद्ध कारबाही गरिने चेतावनी दिनुभयो। विगतका भ्रष्टाचारका मुद्दामा पनि छानबिन गरेर दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो।
प्रधानमन्त्री कार्कीले नेपालको संविधान र शासकीय संरचनाको संशोधन जस्ता विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिर रहेको स्पष्ट पार्दै यस्ता मुद्दा संवैधानिक प्रक्रियाबाटै हल गर्नुपर्ने आग्रह गर्नुभयो।
राज्यको खर्चलाई अनुशासित बनाउने उल्लेख गर्दै प्रधानमन्त्रीले अनुत्पादक खर्च कटौती गर्ने र टुक्रे आयोजनाहरूका लागि विनियोजित बजेट खारेज गरिएको जानकारी दिनुभयो।
चाडपर्वका अवसरमा उपभोग्य वस्तुको आपूर्ति, यातायात तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्रहरू सक्रिय बनाइएको प्रधानमन्त्रीको भनाइ थियो।
प्रतिक्रिया