Logo

मुख्य समाचार

सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल नियुक्त, मृतक परिवारलाई आर्थिक सहायता दिने निर्णय



काठमाडौं  ।  बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई सरकारको प्रवक्तामा नियुक्त गरेको छ । बैठकपछि मन्त्री खरेलले पत्रकारहरूलाई जानकारी दिँदै विभिन्न निर्णयहरूबारे जानकारी दिएका हुन् ।

उनका अनुसार, २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएका नेपाली नागरिकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदर्शनका क्रममा भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक, पहिचान खुलेका मृतकका प्रत्येक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिइनेछ । साथै, काजक्रिया, खाना र यातायात खर्चका लागि अतिरिक्त ५ लाख रुपैयाँ उपलब्ध गराइने निर्णय भएको छ ।

बैठकले सुरक्षण मुद्रण सम्बन्धी नियमावली २०८२ पनि स्वीकृत गरेको छ । यो नियमावली सुरक्षित मुद्रण सम्बन्धी ऐन २०८१ लाई कार्यान्वयनमा लैजानका लागि आवश्यक व्यवस्था अनुसार ल्याइएको प्रवक्ता खरेलले जानकारी दिए ।

त्यस्तै, छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ताका लागि सूचना तथा प्रशारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने निर्णय भएको छ । यससँगै अब अनलाइन सञ्चार माध्यम दर्ता तथा नविकरणको प्रक्रिया जिल्ला प्रशासन कार्यालयबाट नभैइ, सूचना विभागमार्फत नै यथावत रूपमा अघि बढ्नेछ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ७ : ०३ बजे