काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दीपक खड्काको सम्पत्तिमाथि औपचारिक अनुसन्धान सुरु गरेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रारम्भिक प्रमाणहरू संकलन गरी नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (DFL) मा परीक्षणका लागि पठाएको हो।
विभागसम्बद्ध स्रोतका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा पैसा जलाइएको, खरानी र टुक्रा भेटिएको, साथै घटनास्थलका भिडियो फुटेजहरू संकलन गरिएको छ। ती प्रमाणहरूको सत्यता र वैधानिकता परीक्षण गर्न DFL मा औपचारिकरूपमा पत्रसहित पठाइएको जनाइएको छ।
अनुसन्धानको प्रक्रिया देउवा र खड्का निवासमा भएको आगजनीपछिको स्थलगत निरीक्षणपछि सुरु गरिएको हो। स्रोतका अनुसार विभागले केही व्यक्तिहरूसँग अनौपचारिक कुराकानीसमेत गरेको छ।
आरजु राणा देउवामाथि सरकारी पदको दुरुपयोग, समानान्तर भूमिगत गिरोह परिचालन, नक्कली शरणार्थी प्रकरणमा संलग्नता तथा गैरकानूनी सम्पत्ति आर्जनको आरोप लाग्दै आएको छ। उर्जामन्त्री खड्कामाथि पनि पदको दुरुपयोग र व्यक्तिगत लाभका लागि निर्णयहरूमा प्रभाव पारिएको आशंका गरिएको छ।
यस्तै, देउवा दम्पत्तिका छोरा जयवीर देउवामाथि राज्यशक्तिको दुरुपयोग गरी सरकारी निर्णयहरू प्रभावित पारेको आरोप छ। सुरक्षण मुद्रण केन्द्र, पेमेन्ट गेट–वे र नेपाल टेलिकमको बिलिङ प्रणालीमा उनी संलग्न रहेको आशंका गरिएको छ।
हालसम्म कुनै प्रत्यक्ष आपराधिक प्रमाण सार्वजनिक नभए पनि प्रारम्भिक अनुसन्धानमा प्राप्त प्रमाणका आधारमा थप छानबिन अघि बढाइएको विभागले जनाएको छ। प्रमाण पुग्नासाथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान फाइल पठाउने प्रक्रियामा जाने विभागको तयारी छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन अनुसार गैरकानूनी रूपमा आर्जित सम्पत्तिको पुष्टि भएमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गर्न सकिने प्रावधान रहेको छ। देउवा दम्पत्ति झन्डै तीन दशकदेखि सार्वजनिक पदमा रहँदै आएका छन्। यस अवधिमा संकलित सम्पत्तिको वैध स्रोत पुष्टि गर्न नसके भ्रष्टाचारको आरोप लाग्न सक्ने सम्भावना छ।
प्रतिक्रिया